१३ अशोज २०८३, मङ्लबार
29 September 2026, Tuesday

विकास आयोजनामा म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति बढ्यो : सभापति डा. बुढाथोकी

विकास आयोजनामा म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति बढ्यो : सभापति डा. बुढाथोकी

काठमाडौं – अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले अलपत्र,रुग्ण तथा लामो समयदेखि सम्पन्न हुन नसकेका आयोजनालाई ‘क्रिटिकल आयोजना’का रूपमा वर्गीकरण गरेर काम अगाडि बढाउनुपर्ने बताएका छन्। आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास आयोजनाहरू लामो समयदेखि अलपत्र पर्ने, म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति देखिएकाले सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।

‘देशका विकास आयोजनाहरू लामो समयदेखि अलपत्र पर्ने, म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति देखिएको छ। यसले राज्यको स्रोत, समय र जनताको अपेक्षामाथि प्रत्यक्ष असर पारिरहेको छ।’सांसद बुढाथोकीले भने,‘त्यसैले अलपत्र, रुग्ण तथा लामो समयदेखि सम्पन्न हुन नसकेका आयोजनालाई क्रिटिकल आयोजनाका रूपमा वर्गीकरण गरेर समयबद्ध रूपमा सम्पन्न गर्ने विशेष कार्ययोजना बनाई अलपत्र आयोजना समयमा नै पूरा गर्न सरकारलाई विशेष अनुरोध गर्दछु।’

उनले रामेछापमा करिब २१ किलोमिटर सडक निर्माणको लागि पाँच पटक म्याद थप भएर ६ महिना बाँकी हुँदा आधा काम भएकोभन्दै ध्यानाकर्षण गराए। सांसद बुढाथोकीले भने,‘रामेछापको करिब २१ किलोमिटर सेलेघाट-साँघुटार सडक निर्माणको लागि पाँच-पाँच पटक म्याद थपिएको छ, पछिल्लो पटक हालै सरकारले थपेको म्यादपनि सकिन अब ६ महिना मात्र बाँकी छ। तर अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको अवस्था छ। यस विषयमा मैले भौतिक पूर्वाधार मन्त्रीलाई पटक-पटक जानकारी गराउँदै लिखित ध्यानाकर्षणसमेत बुझाएको छु।’ उनले यो समस्या एउटा सडकको मात्र नभएकाले सरकारलाई विशेष कार्ययोजना बनाउन आग्रह गरे।