हिमलुङ हिमपहिरो: ४ को मृत्यु, ११ सकुशल, १२ अझै बेपत्ता
- १४ अशोज २०८३
- १ मिनेटको पढाई
मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। घटनामा ११ जना सकुशल सम्पर्कमा आएका छन् भने १२ जना अझै बेपत्ता छन्।
खराब मौसमको पूर्वसूचना पाएर तल्लो क्षेत्रमा झरेका कारण ११ जनाको ज्यान जोगिएको हो। ज्यान जोगाउन सफल हुनेमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका ४ जना छन्। आइतबार साँझ नार्पाभूमिको फू गाउँ पुगेका उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
हिमपहिरोमा परेर अझै १२ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा हिमालयन होलिडेजका १० र इम्याजिन नेपालका २ जना छन्।
घटनामा ज्यान गुमाउने ४ जनाकै शव फेला परेको छ। सोमबार उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो। उनीहरुको शव मङ्गलबार हेलिकोप्टरबाट काठमाडौँको शिक्षण अस्पताल पठाइएको छ। यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। ती शव पनि सोमबार नै काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ।