१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

राष्ट्रसङ्घमा जलवायु न्यायको मुद्दा बलियोसँग उठायौँ: परराष्ट्रमन्त्री खनाल

राष्ट्रसङ्घमा जलवायु न्यायको मुद्दा बलियोसँग उठायौँ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिता उपलब्धिमूलक भएको बताएका छन्। महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपालको कूटनीतिक छवि उच्च भएको बताए।

खनालका अनुसार यसपटक नेपालले जलवायु न्यायको मुद्दालाई विश्वसामु बलियोसँग उठाएको छ। महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन र विभिन्न बैठकहरूमा नेपालको प्रस्तुतिप्रति विश्व समुदाय सकारात्मक देखिएको उनले बताए। प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र भोटेकोशी बाढीले पारेको असरबारे स्पष्ट कुरा राखेको खनालले जानकारी दिए।

महासभामा सहभागी हुने क्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको उनले बताए। यी भेटघाटले नेपालको कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउन मद्दत पुगेको खनालको भनाइ छ। राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधन विश्वभर धेरै हेरिएको भन्दै उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेको दाबी गरे।