१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

उडिरहेको विमानभित्रै पाइलटमाथि आक्रमण, साउदीमा आकस्मिक अवतरण

उडिरहेको विमानभित्रै पाइलटमाथि आक्रमण, साउदीमा आकस्मिक अवतरण

दुबईबाट इजरायलको तेल अवीभ जाँदै गरेको फ्लाईदुबईको विमान साउदी अरेबियामा आकस्मिक अवतरण गरिएको छ। उडिरहेको जहाजको चालक कक्षभित्रै आक्रमण र रक्ताम्य झडप भएपछि विमानलाई साउदीमा उतारिएको हो।

यात्रुहरूका अनुसार चालक कक्षमा कसैले चक्कु हानेको आवाज आएपछि विमान बेस्सरी हल्लिएको र अचानक तल खसेको थियो। उडानको तथ्याङ्क अनुसार विमान जम्मा २९ सेकेन्डमै १४ हजार १ सय २५ फिट तल झरेको थियो। यस घटनामा विमानका दुवै पाइलट घाइते भएका छन्। अवतरणपछि उनीहरूलाई अस्पताल लगिएको छ। आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानमै रहेका अर्का एक पाइलटले जहाजलाई नियन्त्रणमा लिएर सुरक्षित अवतरण गराए।

सुरुमा इजरायली सेनाले यसलाई आतङ्कवादी हमला हुन सक्ने आशङ्कामा लडाकु विमानहरू पठाएको थियो। तर, सुरक्षा अधिकारीहरूले दुई पाइलटबीच नै झडप भएको हुन सक्ने बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिले अवस्था नियन्त्रणमा रहेको र यात्रुहरूलाई सुरक्षित रूपमा इजरायल फर्काउने काम भइरहेको बताएको छ। फ्लाईदुबईले घटनाको अनुसन्धान गरिरहेको र यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गर्दै गरेको जानकारी दिएको छ।