१६ अशोज २०८३, शुक्रबार
2 October 2026, Friday

फ्लाईदुबई विमान जोगाउने ५ यात्रुलाई इजरायलको ‘वीरता पुरस्कार’

फ्लाईदुबई विमान जोगाउने ५ यात्रुलाई इजरायलको ‘वीरता पुरस्कार’

न्युयोर्क- इजरायली राष्ट्रपति आइज्याक हर्जोगले फ्लाईदुबईको विमान दुर्घटना हुनबाट जोगाउने ५ जना इजरायली यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा गरेका छन्। ती यात्रुहरूले विमान खसाल्ने प्रयास गरिरहेका सहचालकलाई नियन्त्रणमा लिएर ठूलो विपत्ति टारेका थिए।

राष्ट्रपति हर्जोगले अरूलाई बचाउन आफ्नो ज्यान जोखिममा पारेको भन्दै ती यात्रुहरूको प्रशंसा गरे। उनले विमानका भारतीय पाइलट स्मित मच्छालाई पनि धन्यवाद दिएका छन्। सहचालकले चक्कु प्रहार गरेपछि पाइलट मच्छाले नै ककपिटको ढोका खोलेर यात्रुसँग सहयोग मागेका थिए।

पुरस्कार पाउनेमा ताली मानेस पनि छिन्। उनले ककपिटमा हल्ला सुनेपछि सबैभन्दा पहिले यात्रुहरूलाई सतर्क गराएकी थिइन्। त्यसपछि यानिभ हायुन ककपिटमा पसेर सहचालकलाई नियन्त्रणमा लिन अघि सरेका थिए। रगत लागेको कपडामै इजरायल फर्किएका उनलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानस्थलमै स्वागत गरे।

पुरस्कार पाउने अर्का यात्रु आसफ राजुआनले आफू, परिवार र अरूको ज्यान बचाउन उक्त कदम चाल्नुको विकल्प नभएको बताए।