खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको तयारी तीव्र
- १६ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न काठमाडौंको खुलामञ्चमा तयारी तीव्र पारिएको छ। आगामी असोज १८ गते दिउँसो खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अविरल वर्षाका कारण केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि यसअघि तय भएको मितिभन्दा दुई दिन पछि उद्घाटन कार्यक्रम सारिएको हो।
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिनेछ। यसका लागि स्टेज निर्माण, खानेपानीको आपूर्ति तथा अस्थायी शौचालय निर्माणलगायत भौतिक पूर्वाधार तथा व्यवस्थापनका कामहरू द्रुत गतिमा अघि बढिरहेका छन्। यस महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुनेछन्।
असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुने यस महाधिवेशनको कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रमा सातवटा प्रदेशका छुट्टाछुट्टै समूह बनाएर विभिन्न राजनीतिक, सांगठनिक तथा नीतिगत प्रस्ताव र दस्ताबेजमाथि छलफल हुनेछ। त्यसैगरी, असोज २१ र २२ गते पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उम्मेदवारी दर्ता, मतदान र मतगणनासहितको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको छ।