प्रधानमन्त्री कार्यालयको कार्यप्रगति सार्वजनिक: विपद् व्यवस्थापन र चाडपर्व लक्षित तयारीमा जोड
- १६ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि असोज १६ गतेसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले यी विवरण सार्वजनिक गरेका हुन्। रसुवाको बाढीका कारण केही समय रोकिएको नियमित ब्रिफिङ पुनः सुरु भएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बताइन्।
प्रधानमन्त्री वालेन्द्र शाहले असोज ६ देखि १० गतेसम्म अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिए। उनले असोज ९ गते सम्बोधन गर्दै भोटेकोशीको बाढी र जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराए। यसैगरी, दसैँ, तिहार जस्ता चाडपर्वमा सडक खुला राख्न र बजारमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारले आवश्यक निर्णय गरेर संयन्त्रलाई चुस्त बनाएको छ।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा रसुवा बाढीको क्षति विवरण संकलन सकिएको छ भने विपद्पछिको आवश्यकता मूल्याङ्कन जारी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ, जसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको छ। छिटो र पारदर्शी निर्णयका लागि सरकारले डिजिटल प्रणालीसम्बन्धी नयाँ नियमावली पनि राजपत्रमा प्रकाशित गरेको छ।
यस अवधिमा नियमविपरीत काम गर्ने १५ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ। साथै, वर्तमान सरकार गठन भएयता ‘हेलो सरकार’ मा आएका ७७ हजारभन्दा बढी गुनासामध्ये ३१ हजार फर्छ्यौट भएका छन् भने १७ हजारभन्दा बढीको समाधान निकालिएको छ। बाढी, ग्यास अभाव तथा सडक अवरोध जस्ता समस्या सुल्झाउन हेलो सरकार चौबीसै घण्टा सञ्चालन गरिएको थियो।