अष्ट्रेलियामा रोजगारीको अवसर घट्दै, निजी क्षेत्रमा बढी असर
- १६ अशोज २०८३
- १ मिनेटको पढाई
सिड्नी- अष्ट्रेलियामा रोजगारीका लागि खाली हुने पदको संख्या लगातार दोस्रो पटक घटेको छ। अष्ट्रेलियाली तथ्याङ्क ब्युरोका अनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीको माग ०.९ प्रतिशतले घटेर ३ लाख २५ हजारमा झरेको छ।
यसको मुख्य असर निजी क्षेत्रमा देखिएको छ। विशेषगरी थोक व्यापार, व्यावसायिक र प्राविधिक सेवा क्षेत्रमा कामदारको माग धेरै कम भएको छ। तर यसको विपरीत, खुद्रा व्यापार, वित्तीय तथा बीमा सेवा र सार्वजनिक क्षेत्रमा भने नयाँ कर्मचारीको माग बढेको छ।
पछिल्लो एक वर्षको तथ्यांक हेर्दा समग्रमा रोजगारीका खाली पद १.३ प्रतिशतले घटेका छन्। यसले अष्ट्रेलियाको श्रम बजारमा समग्र माग कमजोर देखिए पनि काम खोज्ने क्षेत्रअनुसार अवसर भने फरक-फरक रहेको देखाउँछ।