फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै: ५६० भन्दा बढी विद्यालय प्रभावित, हजारौं पक्राउ
- १७ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- फ्रान्समा शिक्षक अभाव, अपर्याप्त भौतिक सुविधा र लामो कक्षासमयको विरोध गर्दै सुरु भएको उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको आन्दोलन थप चर्किएको छ। पेरिसबाट सुरु भएर देशभर फैलिएको यस आन्दोलनका कारण ५६० भन्दा बढी विद्यालयको पठनपाठन प्रभावित भएको छ।
विद्यार्थीहरूले विद्यालयको प्रवेशद्वार अवरुद्ध गर्ने र आगजनी गर्ने गरेपछि प्रहरीसँग झडपका घटनाहरू बढेका छन्। आन्दोलन सुरु भएयता १०० भन्दा बढी विद्यालयमा गम्भीर क्षति पुगेको छ भने ४० जना प्रधानाध्यापकसहित ६५ जना विद्यालय कर्मचारी र करिब १७० विद्यार्थी घाइते भएका छन्। न्यायमन्त्री जेराल्ड दार्मानिनका अनुसार हालसम्म करिब दुई हजार जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये ९० प्रतिशत नाबालिग छन्।
सरकारले विद्यार्थीका केही माग जायज भएको स्वीकार गरे पनि आन्दोलनलाई ‘अत्यधिक हिंसात्मक समूहले नियन्त्रणमा लिएको’ दाबी गरेको छ। यता, विद्यार्थीहरूले भने प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र जथाभावी अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन्।
आगामी राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा चर्किएको यस आन्दोलनले फ्रान्सको राजनीतिमा समेत तरंग ल्याएको छ। सरकारले वामपन्थी दल ‘फ्रान्स अनबो’ (La France Insoumise) ले आन्दोलनलाई उक्साएको आरोप लगाएको छ, जसलाई उक्त दलका नेताहरूले षड्यन्त्रको सिद्धान्त भन्दै ठाडै अस्वीकार गरेका छन्।