इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
- १७ अशोज २०८३
- २ मिनेटको पढाई
काठमाडौं – सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि प्राविधिक क्षेत्र र लोकतान्त्रिक गतिविधिमा सक्रिय रहँदै आएका केसीले राजनीति, अनुसन्धान र प्रविधिलाई जोड्ने मुख्य एजेन्डासहित उम्मेदवारी अघि सारेका हुन्।
अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट सन् २०१० मा सिभिल तथा इन्भाइरोन्मेन्टल इन्जिनियरिङमा स्नातकोत्तर (एमएस) गरेका केसीले ट्रान्सपोर्टेसन इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका छन्। नेपालको पूर्वाधार, सडक सुरक्षा र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि कार्यरत उनी सन् २०१२ देखि एक्जिक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एन्ड प्लानर्स प्रालिका प्रबन्ध निर्देशक तथा नेपाल इन्टिग्रेटेड रिसर्च एन्ड डेभलपमेन्ट फाउन्डेसनका कार्यकारी निर्देशक रहेका छन्।
विश्व बैंक, आईएलओ, सडक विभाग, राष्ट्रिय योजना आयोग, प्राक्टिकल एक्सन नेपाललगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्दै उनले यातायात र सडक पूर्वाधारका क्षेत्रमा उच्च प्राविधिक तथा व्यवस्थापकीय अनुभव सँगालेका छन्। यसका साथै प्राज्ञिक क्षेत्रमा समेत सक्रिय उनी पुल्चोक क्याम्पस र नेपाल इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन इन्जिनियरिङ अध्यापन गराउँदै आएका छन्।
पेशागत जिम्मेवारीसँगै केसी लोकतान्त्रिक अभियान र नेपाली कांग्रेसको सांगठनिक राजनीतिमा पनि लामो समयदेखि जोडिएका छन्। उनी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका संस्थापक सदस्य तथा सन् २०१८ देखि २०२० सम्मका निर्वाचित केन्द्रीय उपाध्यक्ष हुन्। साथै, उनी नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्यसमिति सदस्यसमेत भइसकेका छन्।
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै केसीले राजनीतिक निर्णय प्रक्रियामा प्राविधिक ज्ञान, वैज्ञानिक योजना र प्रभावकारी व्यवस्थापनलाई समाहित गर्नु आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। भूकम्प, कोभिड–१९ महामारी र बाढी–पहिरोजस्ता विपद्ले विकासका लागि राजनीतिक प्रतिबद्धतासँगै प्राविधिक क्षमता र प्रभावकारी कार्यान्वयनको आवश्यकतालाई थप पुष्टि गरेको उनको बुझाइ छ।
पछिल्लो समय युवा पुस्ताले गरेको आन्दोलनले नयाँ सोच र परिवर्तनको चाहनालाई उजागर गरेको उल्लेख गर्दै केसीले युवा र विज्ञ समुदायको ज्ञान र क्षमतालाई पार्टीको नीति निर्माण र नेतृत्व विकासमा समेट्नुपर्ने आवश्यकता औंल्याएका छन्। हिमाल, पहाड र तराईका नागरिकका साथै युवा र प्राविधिक समुदायको आवाजलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्न आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।
नेपालका विकास चुनौतीहरू समाधान गर्न राजनीतिक शक्ति, विज्ञ र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उनले आफ्नो उम्मेदवारीको मूल नारा “अनुभवबाट सिक्दै, प्रविधिसँग अघि बढ्दै र सहकार्यबाट समृद्ध नेपाल निर्माण गरौँ” तय गरेका छन्।