कांग्रेसले भन्यो : महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा चुनाव लड्न नपाउने
- १७ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै १५औ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने स्मरण गराएका हुन्।
‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अबधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यबस्था रहेको छ ।’ अतः आसन्न १५ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको ब्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा पुनः स्मरण गराइएको छ ।’विज्ञप्तिमा भनिएको छ।’
पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको कटुवालले जानकारी गराए।