१८ अशोज २०८३, आइतवार
4 October 2026, Sunday

कांग्रेस १५ औं महाधिवेशन : विदेशबाट आउने प्रतिनिधिले होटल खर्च तिर्न नपर्ने

कांग्रेस १५ औं महाधिवेशन : विदेशबाट आउने प्रतिनिधिले होटल खर्च तिर्न नपर्ने

काठमाडौं – नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट आउने प्रतिनिधिहरुका लागि काठमाडौंमा बसोबासको तयारी पूरा भएको छ। पार्टीको आवास व्यवस्थापन समितिले काठमाडौंका विभिन्न ८ क्षेत्रमा १० हजार प्रतिनिधि र शुभेच्छुकका लागि होटल बुकिङ गरेको छ।

केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति र नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घको पहलमा गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा होटलहरू तय गरिएको हो।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।

सङ्घका अध्यक्ष ढकालका अनुसार प्रतिनिधिहरूका लागि सहुलियत दरमा होटलमा ५ हजार काेठा व्यवस्थापन गरिएको छ। जिल्ला, जनसम्पर्क समिति र भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिहरूले होटलको खर्च आफैँ व्यहोर्नुपर्नेछ भने विदेशबाट आमन्त्रित पाहुनाहरूको आवास खर्च भने पार्टीले व्यहोर्ने भएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा पार्टीको तर्फबाट उपलब्ध गराइनेछ। आवासमा कुनै समस्या परेमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजिकरण गर्नेछ।

प्रतिनिधिहरूको सहजताका लागि होटलको नाम, क्षेत्र र मूल्य सम्बन्धी विवरण पार्टीको आधिकारिक वेबसाइटमा राखिएको कांग्रेसले जनाएको छ। महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ।