१८ अशोज २०८३, आइतवार
4 October 2026, Sunday

युरोपबाट काङ्ग्रेस केन्द्रीय सदस्यमा अंकित वलीले उम्मेदवारी दिने

युरोपबाट काङ्ग्रेस केन्द्रीय सदस्यमा अंकित वलीले उम्मेदवारी दिने

न्यूयोर्क – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि अंकित वलीले उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय वलीले प्रवासमा रहेका नेपालीको अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र नेपालको समृद्धिलाई आफ्नो राजनीतिक एजेन्डा अघि सारेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सभापतिबाट राजनीतिक यात्रा सुरु गरेका वलीले नेपालमा विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। सन् २०१७ मा आयरल्यान्ड पुगेपछि उनी प्रवासमा रहेका नेपाली समुदायसँग निरन्तर जोडिँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय छन्।

वलीले नेपाली जनसम्पर्क समिति आयरल्यान्डको सभापतिको भूमिका पूरा गरेका छ्न्। वलीले गैरआवासीय नेपालीलाई केवल ‘रेमिट्यान्स पठाउने माध्यम’का रूपमा नभई ज्ञान, सीप, पूँजी र प्रविधि बोकेका विकासका साझेदारका रूपमा हेर्नुपर्ने धारणा अघि सारेका छन्। कांग्रेसको नीति निर्माण र नेपालको विकास प्रक्रियामा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई संस्थागत रूपमा जोड्न आफूले उम्मेदवारीको तयारी गरेको उनले बताएका छन्।

राजनीतिक दृष्टिकोण बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारलाई आधुनिक विश्व र विश्वभर फैलिएको नेपाली समुदायको बदलिँदो भूमिकासँग जोड्नु र ‘कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई सम्मान गर्दै प्रविधिको विकास, युवाका आकांक्षा र प्रवासी समुदायको बदलिँदो भूमिकालाई आत्मसात् गर्न पहल गर्ने उनले बताएका छन् ।
वलीले आफू निर्वाचित भएमा डायस्पोरामा रहेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको समृद्धिसँग जोड्ने, युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने तथा सुशासन र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।