लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउँदैनौँ : रवि लामिछाने
- १८ अशोज २०८३
- १ मिनेटको पढाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताबाट कहिल्यै नडगमगाउने स्पष्ट पारेका छन्। जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको रक्षा गर्न रास्वपा सधैँ अग्रपङ्क्तिमा उभिने उनले प्रतिबद्धता व्यक्त गरे।
सरकारको नियत सही भएको र कुनै निर्णय गलत भए सच्याउन तयार रहेको बताउँदै उनले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नहुने जिकिर गरे। विगतमा दुई ठूला दल विनाकारण एक ठाउँमा उभिँदा सङ्कट पैदा हुने र त्यसैले आफ्नो पार्टीको जन्म भएको स्मरण गराउँदै उनले लोकतन्त्रको रक्षा गर्ने सम्पूर्ण ‘ठेक्का’ एउटै दलले मात्र लिन नहुने बताए।
देशमा हाल लोकतन्त्रमाथि कुनै खतरा नरहेको र यदि खतरा आइपरे नेपाली जनताले नै त्यसको प्रतिवाद गर्ने बताउँदै लामिछानेले लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिकाको प्रशंसा गर्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।