१९ अशोज २०८३, सोमवार
5 October 2026, Monday

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले निरन्तरताको क्रमभङ्ग गर्दै देशको नेतृत्व लिनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले गगनकुमार थापाले पार्टी नेतृत्वमा क्रमभङ्ग गरी नयाँ इतिहास सुरु गरेकोमा बधाई दिए।

सभापति थापाको राजनीतिक यात्रा र नेतृत्व क्षमताको प्रशंसा गर्दै दाहालले अब उनी पार्टीको नेतृत्वमा मात्र सीमित नभई देशकै नेतृत्व गर्ने दिशातर्फ अघि बढ्नुपर्ने र त्यसमा आफ्नो पूर्ण साथ रहने उल्लेख गरे। साथै, कांग्रेसभित्र छुटेका सबै नेता तथा समूहलाई समेटेर पार्टीलाई थप एकताबद्ध बनाउन उनले सुझाव दिए।

मुलुकमा गणतन्त्र र लोकतन्त्रमाथि अझै जोखिम कायमै रहेकाले प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य अनिवार्य रहेको उनको भनाइ थियो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको शान्ति सम्झौताका बाँकी कामहरू टुङ्ग्याउन नसके देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी दिँदै ती कार्यभार पूरा गर्ने जिम्मेवारी अब थापाको काँधमा आएको दाहालले बताए।