प्रजातन्त्र स्थापना र राष्ट्र निर्माणमा कांग्रेसको भूमिका महत्त्वपूर्ण : दलका नेताहरू
- १८ अशोज २०८३
- १ मिनेटको पढाई
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै विभिन्न राजनीतिक दलका नेताहरूले प्रजातन्त्र स्थापना, सङ्घीय लोकतान्त्रिक व्यवस्था र संविधान निर्माणमा कांग्रेसको ऐतिहासिक भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस हल्लाका भरमा नभई लामो सङ्घर्ष र बलिदानबाट स्थापित भएको बताउँदै आगामी दिनमा सत्तामा कति टिक्नेभन्दा पनि जनताका पक्षमा कति काम गर्ने भन्ने कुरालाई प्राथमिकतामा राख्न सुझाव दिए।
त्यसैगरी, राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणा र पञ्चायतविरोधी आन्दोलन तथा वर्तमान संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै बदलिँदो परिवेशमा पार्टी अझ सशक्त र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए।
राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले देशको विशिष्ट राजनीतिक परिस्थितिमा हुन लागेको यस महाधिवेशनले कांग्रेसको आन्तरिक जीवन मात्र नभई मुलुकको समग्र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।