१९ अशोज २०८३, सोमवार
5 October 2026, Monday

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण रूपमा नष्ट

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण रूपमा नष्ट

पर्वत जिल्लामा बाढीपहिरोका कारण ३०० परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार विपत्तिमा परी १७० घर पूर्ण रूपमा र १३१ घरमा आंशिक क्षति पुगेको छ। जिल्लाका सातमध्ये छ वटा पालिका प्रभावित भएकोमा जलजला गाउँपालिका सबैभन्दा बढी मारमा परेको छ, जहाँ मात्रै १७१ परिवार विस्थापित भएका छन् र ११३ घरमा ठूलो क्षति पुगेको छ। अन्य पालिकाहरू कुश्मा, फलेवास, बिहादी, महाशिला र मोदीमा पनि भौतिक क्षति भएको छ।

बाढीपहिरोले नागरिकका घरका अतिरिक्त ५ वटा विद्यालय भवन, स्वास्थ्य तथा प्रहरी चौकी, मन्दिर र कृषि फार्मलगायतका संरचनामा क्षति पुर्‍याएको छ। यसका साथै पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ भने ग्रामीण सडक र कालीगण्डकी लोकमार्गका विभिन्न खण्डहरू अवरुद्ध छन्।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार, विस्थापित परिवारहरूलाई स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा त्रिपाल, खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक राहत वितरण भइरहेको छ।