जलवायु संकट समाधानमा नेपाल-भारत सहकार्य आवश्यक
- १९ अशोज २०८३
- १ मिनेटको पढाई
भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर कम गर्न नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले जलवायु संकट साझा समस्या भएकाले संयुक्त संयन्त्र बनाएर अघि बढ्न सुझाव दिए।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीन मिलेर संयन्त्र बनाउन गरेको प्रस्तावलाई उनले स्वागत गरे। विपत्तिको कुनै सिमाना नहुने भएकाले यी तीन देशले मिलेर काम गर्दा प्रभावकारी हुने उनको भनाइ छ। हालैको बाढीमा परेर नेपाली, भारतीय र चिनियाँ नागरिकको ज्यान गएको उदाहरण दिँदै उनले प्राकृतिक विपत्तिले सबैलाई उस्तै असर गर्ने बताए।
उनले नेपाल र भारतको सम्बन्ध अद्वितीय रहेको र भारतको ‘छिमेक प्रथम’ नीतिमा नेपाल सधैँ पहिलो प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे। सो नीति सम्मान, संवाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्ने उनको जोड थियो।
कार्यक्रममा सिनासका अध्यक्ष डा. मृगेन्द्रबहादुर कार्कीले नेपाल-भारत सम्बन्धमा शाहवंशीय राजाहरूका विदेश नीति र दिव्य उपदेश महत्त्वपूर्ण रहेको बताए। त्यस्तै, प्राध्यापक आनन्द आदित्यले दुई देशको सम्बन्ध राजनीतिभन्दा माथि उठेर आर्थिक, सांस्कृतिक र जनसम्पर्कका आधारमा बलियो रहेको उल्लेख गरे।