२० अशोज २०८३, मङ्लबार
6 October 2026, Tuesday

सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन बलियो नियामक संयन्त्र आवश्यक

सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन बलियो नियामक संयन्त्र आवश्यक

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन्। मन्त्रालयमा प्रदेशका सञ्चार सम्बद्ध पदाधिकारीहरूसँगको छलफलमा उनले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी र संस्थागत व्यवस्था गर्न लागिएको जानकारी दिए।

सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै नियमनलाई व्यवस्थित गर्न प्रस्तावित ‘प्रेस काउन्सिल विधेयक’ र ‘आमसञ्चार विधेयक’मार्फत नियामक निकायलाई बलियो बनाइने उनको भनाइ छ। यी नयाँ कानुनले सङ्घ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वयलाई स्पष्ट पार्ने मन्त्री तिमिल्सिनाले बताए।

छलफलमा बागमती, गण्डकी र मधेस प्रदेशका सञ्चार तथा प्रेस सम्बद्ध अधिकारीहरूले सङ्घीय कानुन निर्माणमा भएको ढिलाइ र अधिकार स्पष्ट नहुँदा प्रदेशस्तरमा काम गर्न समस्या भइरहेको गुनासो गरेका थिए। उनीहरूको ध्यानाकर्षणपछि मन्त्री तिमिल्सिनाले सरोकारवालाका सुझावलाई प्रस्तावित विधेयकमा समेटेर अघि बढ्ने र सञ्चार क्षेत्रलाई उत्तरदायी बनाउन निरन्तर छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।