२० अशोज २०८३, मङ्लबार
6 October 2026, Tuesday

विपद् व्यवस्थापनमा तीनवटै तहका सरकार मिलेर काम गर्दैछन् : प्रधानमन्त्री

विपद् व्यवस्थापनमा तीनवटै तहका सरकार मिलेर काम गर्दैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन्। सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम चाँडै सक्ने आश्वासन दिए।

उनले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र हिमपहिरोको जोखिम कम गर्ने काम भइरहेको जानकारी दिँदै उद्धारमा निरन्तर खटिने सबैलाई धन्यवाद दिए। सोही बैठकमा कांग्रेस नेता भीष्मराज आङ्देम्बेले विपद्मा परेर बेपत्ता भएकालाई मृतकसरह घोषणा गर्न कानुन संशोधन गर्नुपर्ने बताए।

बैठकमा सहभागी चारवटा प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशका समस्या र आवश्यकता सुनाए। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो बाढीपहिरोबाट प्रदेशमा ३५ जनाको मृत्यु भएको र सडक तथा पुलहरूमा ठूलो क्षति पुगेकाले पुनर्निर्माणका लागि विशेष प्याकेज माग गरे। कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आफ्नो प्रदेशका ४२ वटा हिमताल फुट्ने उच्च जोखिममा रहेको भन्दै उपकरण र जनशक्तिमा केन्द्रको सहयोग मागे।

यसैगरी मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जमिनमुनिको पानीको सतह घटेर खानेपानीको ठूलो समस्या निम्तिन लागेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराए। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भने प्रभावित क्षेत्रमा पुल निर्माण गर्ने र बाढी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना प्रस्तुत गरे।