तनहुँका पर्यटकीय गन्तव्यलाई जीप सफारीले जोड्ने तयारी
- २१ अशोज २०८३
- १ मिनेटको पढाई
तनहुँका प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी भइरहेको छ। जिल्लामा आन्तरिक पर्यटन बढ्दै गएपछि बन्दीपुर र आँबुखैरेनीमा चलिरहेको जीप सफारीलाई विस्तार गरेर अन्य गन्तव्यसँग जोड्न लागिएको हो।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललाई समेटेर धार्मिक तथा पर्यटकीय सर्किट बनाउने योजना रहेको बताए। अहिले पर्यटकलाई सडक मार्गबाट गाउँ, पहाड र प्राकृतिक ठाउँ घुमाउने काम भइरहेको उनले जानकारी दिए।
यसरी एउटै प्याकेजमा धेरै ठाउँ घुम्न मिल्ने बनाएपछि पर्यटकको बसाइ लम्बिने व्यवसायीको विश्वास छ। जीप सफारीले मुख्य बजारबाट गाउँसम्मै पर्यटक पुर्याउने भएकाले स्थानीय होमस्टे, होटल र कृषि उत्पादनको व्यापार पनि बढ्ने पौडेलले बताए। गन्तव्यको समूह बनाएर अघि बढे तनहुँलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।