२२ अशोज २०८३, बिहिबार
8 October 2026, Thursday

बाजुरामा फस्टाउँदै ड्रागन फ्रुटखेती, भोलारामलाई मनग्य आम्दानी

बाजुरामा फस्टाउँदै ड्रागन फ्रुटखेती, भोलारामलाई मनग्य आम्दानी

बाजुराको बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले ड्रागन फ्रुटखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले विगत तीन वर्षदेखि परम्परागत खेतीको विकल्पमा यो व्यावसायिक खेती सुरु गरेका हुन्।

२०७४ सालसम्म मार्तडीमा होटल चलाएका भोलाराम गाउँ फर्किएर सुरुमा कुखुरापालन र तरकारी खेतीमा लागे। पछि कृषि ज्ञान केन्द्रको सल्लाहमा उनले ड्रागन फ्रुट खेती सुरु गरे। अहिले उनले पाँच रोपनी जग्गामा १ हजार ४०० बिरुवा हुर्काएका छन्।

गत वर्ष ६ क्विन्टल ड्रागन फ्रुट बेचेका उनले यस वर्ष १५ क्विन्टल बिक्री गरिसकेका छन्। यसबाट वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। उत्पादित फल बाजुराको मार्तडी बजार र अछामको साँफेबगरसम्म सजिलै बिक्री भइरहेको छ।

थोरै सिँचाइ र गाईवस्तुको मलमै राम्रो उत्पादन दिने यो खेती गर्ने भोलाराम जिल्लाकै पहिलो ठूला व्यावसायिक किसान हुन्। कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा १०० देखि १ हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटको निकै राम्रो सम्भावना छ। थोरै सिँचाइ सुविधा भएको ठाउँमा पनि मेहनत गरे यसबाट पर्याप्त लाभ लिन सकिने केन्द्रले जनाएको छ।