२२ अशोज २०८३, बिहिबार
8 October 2026, Thursday

म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसी गाउँ जोखिममा

म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसी गाउँ जोखिममा

म्याग्दी नदीमा आएको बाढीले मालिका गाउँपालिका–६ बालौटेस्थित बेनी–दरवाङ सडक खण्ड कटान गर्दा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित भएको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले सडक भत्किएर पहिरो जाँदा करिब १४० घरपरिवार रहेको दुखुबेँसी गाउँ उच्च जोखिममा परेको छ।

हाल दुखुखोलामा ह्युम पाइप राखेर अस्थायी वैकल्पिक सडक सञ्चालन गरिए पनि त्यो अत्यन्तै साँघुरो र जोखिमपूर्ण छ। पूर्वाधार विकास कार्यालयका अनुसार करिब १०० मिटर सडक पूर्ण रूपमा भत्किएकाले बस्तीलाई असर नपर्ने गरी पक्की पर्खाल वा ग्याबियन जाली उठाएर मात्र सडक पुनर्निर्माण गर्नुपर्ने अवस्था छ।

गण्डकी प्रदेशका सांसद, मन्त्रालयका सचिव र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गर्दै दसैँअघि नै सडक मर्मत गरी यातायात सञ्चालन गर्ने सहमति गरेका छन्। पूर्वाधार विकास कार्यालयको बजेट, गाउँपालिकाको निर्माण सामग्री र स्थानीय जलविद्युत् आयोजनाका उपकरण प्रयोग गरेर तत्काल सडक मर्मत, कटान रोकथाम र बस्ती संरक्षणको काम अघि बढाइने भएको छ।