नेपाल–रुस परामर्श बैठक आज: रुसी सेनामा रहेका नेपालीबारे छलफल हुने
- २१ अशोज २०८३
- १ मिनेटको पढाई
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा बस्दैछ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा यो बैठक हुन लागेको हो।
बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी टोलीको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसका उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन्। आजको छलफलमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, शिक्षा र संस्कृतिलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा कुराकानी हुनेछ। साथै, रुसी सेनामा भर्ती भएका, बेपत्ता भएका र मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
यसैबीच, मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रुसी उपविदेशमन्त्री रुडेन्कोले बाढीपहिरोबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। उनले विपद्को बेला रुसले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग गर्ने बताए। नेपालले संयुक्त राष्ट्रसङ्घमा उठाएको जलवायु परिवर्तनको जोखिमबारेको विषयलाई प्रशंसा गर्दै उनले यो विश्वकै लागि चेतावनी भएको पनि उल्लेख गरे।
यसका साथै, आगामी शैक्षिक वर्षदेखि रुसले नेपाली विद्यार्थीका लागि ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने उनले जानकारी दिए।