फ्रान्समा शैक्षिक बजेटको माग गर्दै देशव्यापी प्रदर्शन: साढे दुई लाखभन्दा बढी सडकमा, प्रहरीद्वारा अश्रुग्यास प्रहार
- २१ अशोज २०८३
- १ मिनेटको पढाई
फ्रान्समा विद्यालयहरूमा बजेट तथा स्रोतसाधन वृद्धिको माग गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकहरू देशव्यापी प्रदर्शनमा उत्रिएका छन्। मंगलबार राजधानी पेरिससहित देशभर २ लाख ६० हजारभन्दा बढी मानिस सडकमा उत्रिँदा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।
विद्यार्थीहरूले जीर्ण कक्षाकोठा, फर्निचर र शिक्षक–कर्मचारीको अभाव, अत्यधिक कार्यबोझ तथा विद्यालयको दयनीय अवस्था सुधार गर्नुपर्ने माग राख्दै दुई हप्तादेखि कक्षा बहिष्कार र विद्यालय घेराउ गर्दै आएका छन्। आन्दोलन चर्किएपछि मंगलबार मात्रै देशभरका झन्डै ९०० विद्यालयको पठनपाठन पूर्ण वा आंशिक रूपमा बन्द भएको थियो।
प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले मंगलबार ५०० जनालाई र आन्दोलन सुरु भएयता ६ हजार ५०० भन्दा बढीलाई पक्राउ गरिसकेको छ, जसमा धेरैजसो नाबालिग विद्यार्थी छन्। प्रहरीको ‘स्टन ग्रेनेड’ लागेर एक १५ वर्षीय विद्यार्थीले हात गुमाएका छन् भने सयौँ प्रदर्शनकारी र प्रहरी अधिकारी घाइते भएका छन्। नाबालिगहरूमाथि अश्रुग्यास र रबरको गोली प्रयोग गरेको भन्दै चर्को आलोचना भइरहँदा सरकारले भने हिंसा नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको दाबी गरेको छ।
राष्ट्रपति इमानुएल म्याक्रोँको सरकारमाथि तीव्र दबाब सिर्जना गरेको यो विद्यार्थी आन्दोलनको प्रभाव छिमेकी मुलुक बेल्जियममा समेत देखिन थालेको छ।