कांग्रेस महाधिवेशन : रामेछापकी कुमारी हायूले दिइन् केन्द्रीय सदस्यको उम्मेदवारी
- २१ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य (अल्पसंख्यक कोटा) मा लोपोन्मुख हायू समुदायकी नेतृ कुमारी हायूले उम्मेदवारी दर्ता गराएकी छन्। रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हायूले काठमाडौंमा जारी कांग्रेसको १५ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी हायू लगातार दोस्रो पटक महाधिवेशन प्रतिनिधि बनेकी छन्। विगतमा जिल्ला तथा भ्रातृ संगठनमा सक्रिय उनले यो पटक केन्द्रीय राजनीतिमा फड्को मार्ने लक्ष्य राखेकी छन्।
उनी हाल नेपाल हायू महिला समाज र नेपाल लोकतन्त्रवादी हायू संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत छिन्। अल्पसंख्यक क्लस्टरबाट १ जना केन्द्रीय सदस्य निर्वाचित हुने वैधानिक व्यवस्था रहेको छ। उक्त पदमा हायूसहित १२ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी दर्तापछि हायूले भनिन्,‘महिला, त्यसमा पनि लोपोन्मुख तथा अल्पसंख्यक समुदायका महिलाका मुद्दाहरूलाई पार्टीभित्र नीतिगत रूपमै बहस र पैरवी गर्न जरुरी छ। पछाडि पारिएका समुदायको आवाजलाई माथिल्लो तहसम्म पुर्याउनका लागि नै मेरो उम्मेदवारी हो।’
उनले आफू एउटा व्यक्तिका रूपमा नभई तिनै आवाजविहीन, लोपोन्मुख, र सीमान्कृत समुदायको साझा प्रतिनिधि बनेर उभिएको बताइन्।हायूले भनिन्,‘लोकतन्त्रको वास्तविक सुन्दरता नै पहुँचविहीन र साना समुदायलाई पनि अवसर र न्याय दिनु हो। कांग्रेसलाई साँच्चिकै सबै भूगोल, वर्ग र जातजातिको साझा चौतारी बनाउने हो भने, अल्पसंख्यक र लोपोन्मुख समुदायको नेतृत्वलाई अगाडि बढाउनैपर्छ। त्यसमाथि न्यून संख्यामा हायू समुदाय छन्। मैले विगतमा संगठन र समाजमा रहेर निष्ठापूर्वक काम गरेकी छु। हाम्रो समुदायबाट आज केन्द्रीय राजनीतिमा फड्को मार्दै तपाईँहरूको आवाज बन्ने आँट गरेकी छु। महाधिवेशन प्रतिनिधिहरुले साथ दिनुहोला।’