२३ अशोज २०८३, शुक्रबार
9 October 2026, Friday

दसैँमा तोकिएभन्दा बढी भाडा लिने गाडीलाई कारबाही गरिने, भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै

दसैँमा तोकिएभन्दा बढी भाडा लिने गाडीलाई कारबाही गरिने, भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै

काठमाडौँ –  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएभन्दा बढी भाडा नलिन सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले सरकारले तोकेभन्दा बढी भाडा लिने गाडीलाई कारबाही गरिने जानकारी दिए ।

सरकारले यस वर्षको दसैँका लागि असोज २३ गतेदेखि देशभर चल्ने यात्रुवाहक गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर सङ्गठन र ट्राफिक प्रहरीको संयुक्त बैठकले यात्रालाई सहज र सुरक्षित बनाउन यो निर्णय गरेको हो ।

महासङ्घले टिकट बुकिङलाई व्यवस्थित बनाउन सातै प्रदेश, जिल्ला समिति र काठमाडौँको गोङ्गबु बसपार्कका कर्मचारीलाई विशेष निर्देशन दिएको छ । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ । साथै, यात्रुसँग नम्र व्यवहार गरी सहजै टिकट उपलब्ध गराउन भनिएको छ ।

दसैँको भिडभाड व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक गाडी चलाउन रोक लगाइने भएको छ । तर खाद्यान्न, औषधि, फलफूल जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीलाई भने रोक लगाइने छैन ।

यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर यात्रुवाहक गाडीका लागि रुट परमिट खुला गरिएको छ । सडकको अवस्थाका कारण पहिलेदेखि नै प्रतिबन्ध लगाइएका ठाउँमा भने ठूला गाडी चलाउन पाइने छैन ।

यात्रुको सहजताका लागि उपत्यकाका मुख्य नाकामा यात्रु सहायता कक्ष राखिने भएको छ । गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा महासङ्घ र विभागको टोलीले अनुगमन गर्नेछ । यसैगरी, यात्रुको सुरक्षालाई ध्यानमा राख्दै टेकुस्थित सवारी परीक्षण कार्यालयका प्राविधिक खटाएर गोङ्गबु बसपार्कमै गाडीको निःशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको छ ।