न्युयोर्क- आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ उम्मेदवार नभए पनि रिपब्लिकन पार्टीको बहुमत जोगाउन आक्रामक प्रचारप्रसारमा उत्रिएका छन् । तर, उनको प्रचार शैली र आश्वासनमा अमेरिकी करदाताको पैसा दुरुपयोग भएको र यसले संघीय कानुनसमेत उल्लङ्घन गरेको विज्ञहरूले बताएका छन् ।
गत सेप्टेम्बरमा ट्रम्प र उनको प्रशासनको प्रशंसा गरिएका केही विज्ञापनहरू लोकप्रिय टेलिभिजन कार्यक्रम र फुटबल खेलको बीचमा प्रसारण गरिएका थिए । ती विज्ञापनमा ‘अमेरिकी सरकारद्वारा भुक्तानी गरिएको’ (अर्थात् करदाताको पैसाबाट तिरिएको) उल्लेख थियो । सिबिएस न्युजका अनुसार अमेरिकी गृह सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्यन्ड सेक्युरिटी) ले राष्ट्रिय मिडिया अभियानका नाममा एक एजेन्सीलाई २ करोड डलर (२० मिलियन डलर) भुक्तानी गरेको थियो ।
ती विज्ञापनहरूमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको दृश्यदेखि ट्रम्पका तस्बिर र भिडियोहरू राखिएका थिए, जसमा ‘युद्धपिपासुहरूलाई लखेट्ने’ र ‘अमेरिकालाई कम्युनिस्ट राष्ट्र हुनबाट जोगाउने’ जस्ता आक्रामक राजनीतिक सन्देशहरू थिए ।
विपक्षी दल र गैरसरकारी संस्थाहरूले यसको तीव्र आलोचना गरे । उपभोक्ता अधिकारवादी संस्था ‘पब्लिक सिटिजन’ले संघीय सञ्चार आयोग (एफसीसी) मा उजुरी दर्ता गर्दै सरकारी कोषलाई राजनीतिक प्रोपागान्डा र आत्मप्रशंसामा खर्च गर्नु गैरकानुनी भएको बतायो । चौतर्फी दबाबपछि सोमबार ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अबदेखि यस्ता विज्ञापनमा सरकारी कोष प्रयोग नगर्ने र चन्दाबाट उठेको रकम मात्र प्रयोग गर्ने घोषणा गरेका छन् ।
अमेरिकन युनिभर्सिटीका प्राध्यापक प्याट्रिक मलोनका अनुसार चुनावको ठीक अगाडि करदाताको पैसामा यस्ता विज्ञापन आउनु निकै गम्भीर र समस्याजनक विषय हो ।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा अमेरिकी मतदाताले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का सबै ४३५ सिट र माथिल्लो सदन (सिनेट) का एक तिहाइ सिटका लागि मतदान गर्नेछन् । हाल सिनेटमा १०० मध्ये ५३ र तल्लो सदनमा २१९ सिटसहित रिपब्लिकनको बहुमत छ ।
तर, सोमबार सार्वजनिक भएको रोयटर्स र इप्सोसको सर्वेक्षणले रिपब्लिकन पार्टीको पकड कमजोर हुँदै गएको देखाएको छ । ५० वर्ष वा सोभन्दा माथिका मतदातामा रिपब्लिकनको अग्रता ८ प्रतिशतबाट घटेर २ प्रतिशत (४४% विरुद्ध ४२%) मा झरेको छ । त्यस्तै, ५० वर्षमुनिका मतदातामा डेमोक्र्याटिक पार्टी १८ अंकले अगाडि छ ।
सर्वेक्षणका अनुसार ट्रम्पको लोकप्रियता पनि उनको राजनीतिक जीवनकै सबैभन्दा न्यून (३२ प्रतिशत) बिन्दुमा झरेको छ । बढ्दो महँगी र ६ महिनाभन्दा लामो समयदेखि इरानसँग चलिरहेको युद्धका कारण अमेरिकी नागरिकहरू ट्रम्पप्रति असन्तुष्ट छन् ।
ट्रम्पको घट्दो लोकप्रियताका कारण रिपब्लिकन पार्टीकै उम्मेदवारहरू उनीसँग एउटै मञ्चमा देखिन डराइरहेका छन् । ‘पोलिटिको’का अनुसार कडा प्रतिस्पर्धा हुने राज्य (ब्याटलग्राउन्ड स्टेट) मा ट्रम्प प्रचारका लागि गएमा त्यहाँका उम्मेदवारहरूले उनलाई छल्न ‘कोभिड भएको बहाना बनाउने’ सम्भावना छ ।
गत सेप्टेम्बरमा ट्रम्पले आयोजना गरेको पार्टीको विशेष सम्मेलनमा मेनकी सिनेटर सुसान कोलिन्स र अलास्काका ड्यान सुलिभान जस्ता चर्चित नेताहरू सहभागी भएनन् । त्यस्तै एरिजोना, आयोवा र मिशिगनका उम्मेदवारहरूले पनि उक्त कार्यक्रम बहिष्कार गरे ।
मतदाता आकर्षित गर्न ट्रम्पले मतपत्रमा आफ्नो नाम नभए पनि आफू नै उम्मेदवार भएको कल्पना गरेर भोट हाल्न समर्थकहरूलाई आग्रह गरेका छन् । यति मात्र होइन, यदि दुवै सदनमा रिपब्लिकनको बहुमत कायम रहेमा मतदानका लागि योग्य प्रत्येक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने अनौठो वाचासमेत उनले गरेका छन् ।
यो वाचा पूरा गर्न संघीय सरकारलाई १.२ ट्रिलियन (१२ खर्ब) डलरभन्दा बढी रकम आवश्यक पर्छ । प्राध्यापक मलोनका अनुसार संसद (कंग्रेस) को स्वीकृति बिना राष्ट्रपतिले यस्तो रकम बाँड्न सम्भव छैन । उनले यसलाई ट्रम्पको पुरानो ‘मेक्सिकोले पर्खाल बनाउने पैसा तिर्छ’ भन्ने जस्तै पूरा नहुने आश्वासनको संज्ञा दिएका छन् ।