२३ अशोज २०८३, शुक्रबार
9 October 2026, Friday

ट्रम्पद्वारा मेडिकेयर लाभार्थीलाई ९० डलर फिर्ता दिने प्रक्रिया सुरु, तर लाखौँ नागरिक बञ्चितः आलोचक भन्छन्- ‘राजनीतिक स्टन्ट’

ट्रम्पद्वारा मेडिकेयर लाभार्थीलाई ९० डलर फिर्ता दिने प्रक्रिया सुरु, तर लाखौँ नागरिक बञ्चितः आलोचक भन्छन्- ‘राजनीतिक स्टन्ट’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ करोडभन्दा बढी ‘मेडिकेयर’ (स्वास्थ्य बीमा) लाभार्थीहरूलाई उनीहरूको ‘पार्ट बी’ प्रिमियम तिर्न सहयोग पुग्ने गरी प्रतिव्यक्ति एकपटकका लागि ९० डलर उपलब्ध गराउने घोषणा गरेका छन् । यो रकम यसै सातादेखि वितरण गरिनेछ र यसका लागि करिब २ अर्ब डलर खर्च हुने अनुमान छ ।

तर, कुल मेडिकेयर लाभार्थीमध्ये एक तिहाइभन्दा कम व्यक्ति मात्र यो रकम पाउन योग्य छन् । करिब ३ करोड ५० लाख ‘मेडिकेयर एड्भान्टेज’मा आबद्ध व्यक्तिहरू, अपाङ्गता भएका लाखौँ नागरिक र न्यून आय भएका मेडिकेयर लाभार्थीहरू यस सुविधाबाट बञ्चित हुनेछन् ।

आगामी नोभेम्बर ३ मा हुन लागेको मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पले गत सप्ताहान्तमा यो चुनावी वाचा गरेका हुन् । हाल अमेरिकी मतदाताहरूका लागि बढ्दो महँगी र स्वास्थ्य उपचार खर्च मुख्य चासोको विषय बनेको छ ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने, मेडिकेड (Medicaid) बाट प्रिमियम सहायता नपाउने वा आम्दानीका आधारमा अतिरिक्त मासिक शुल्क नतिर्ने ‘ओरिजिनल मेडिकेयर पार्ट बी’ का करिब २ करोड ८ लाख मानिसहरूले यो लाभ पाउनेछन् ।

स्वास्थ्य सेवा अनुसन्धान संस्था (KFF) का अनुसार कुल ६ करोड ४२ लाख मेडिकेयर लाभार्थीमध्ये आधाभन्दा बढी ओगट्ने ‘मेडिकेयर एड्भान्टेज’का सदस्यहरूले यो रकम पाउने छैनन् । त्यस्तै, प्रिमियम सहायता पाइरहेका १ करोड २० लाख न्यून आय भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू पनि यसबाट बञ्चित हुनेछन् ।

मेडिकेयरको ‘पार्ट बी’ कार्यक्रमले डाक्टरको परामर्श, एम्बुलेन्स सेवा र प्रयोगशाला परीक्षण जस्ता खर्चहरू समेट्छ । यसको मासिक शुल्क सामान्यतया २०० डलरबाट सुरु हुन्छ र आम्दानीअनुसार फरक पर्छ ।

ह्वाइट हाउसकी प्रवक्ता एलिसन शुस्टरले एक विज्ञप्ति जारी गर्दै भनिन्, “प्रशासनले मेडिकेयरका बिरामीहरूको हातमा सिधै पैसा फिर्ता दिएर अमेरिकीहरूलाई आफ्नो स्वास्थ्यको नियन्त्रण आफैँ लिन सक्षम बनाइरहेको छ ।”

सेन्टर्स फर मेडिकेयर एन्ड मेडिकेड सर्भिसेज (CMS) को वेबसाइटका अनुसार योग्य लाभार्थीहरूले यो महिना ९० डलरको रिबेट (छुट रकम) पाउनेछन् । तीमध्ये अधिकांशको बैंक खातामा यही शुक्रबार वा सोको आसपासमा सिधै रकम जम्मा (डाइरेक्ट डिपोजिट) हुनेछ । अन्य व्यक्तिहरूले भने अक्टोबर महिनाको अन्त्यतिर ट्रेजरी डिपार्टमेन्टबाट कागजी चेक प्राप्त गर्नेछन् ।

केएफएफकी मेडिकेयर नीति कार्यक्रम निर्देशक जुलिएट क्युबान्स्कीका अनुसार यो भुक्तानी स्वतः हुनेछ । यसका लागि नागरिकले कतै फोन वा आवेदन दिनु पर्दैन, तर मेडिकेयरमा आबद्ध सबैले यो पैसा पाउने छैनन् । आफू योग्य भए/नभएको बुझ्न र भुक्तानीको अवस्था थाहा पाउन ह्वाइट हाउसले टोल-फ्री नम्बरहरू पनि उपलब्ध गराएको छ ।

यो रकम सन् २००८ मा अमेरिकी संसद (कंग्रेस) ले स्थापना गरेको ‘मेडिकेयर इम्प्रुभमेन्ट फन्ड’ (मेडिकेयर सुधार कोष) बाट बेहोरिनेछ । सुरुमा यो कोष कार्यक्रमको व्यवस्थापन सुधार र ठेक्कापट्टाको निगरानीका लागि खडा गरिएको भए पनि पछि कानुनी संशोधनमार्फत यसको दायरा फराकिलो बनाइएको थियो ।

यो कोष प्रयोग गरिएको यो पहिलो पटक भने होइन । यसअघि डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाको प्रशासनले कंग्रेससँग मिलेर ‘अफोर्डेबल केयर एक्ट’ (ओबामाकेयर) मार्फत स्वास्थ्य सेवा विस्तार गर्न यही कोषबाट २० अर्ब डलर रकमान्तर गरेको थियो । तर, ट्रम्पको कार्यकालमा यो कोषबाट सिधै लाभार्थीलाई नगद बाँड्न लागिएको भने पहिलो पटक हो ।

ट्रम्पको यस कदमका आलोचकहरूले ९० डलरको भुक्तानीलाई स्वास्थ्य क्षेत्रको संरचनात्मक समस्या र महँगी समाधान गर्नुको सट्टा चुनावअघि मतदाता फकाउने ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् ।

सिनेटको अर्थ समितिका शीर्ष डेमोक्र्याट सिनेटर रोन वाइडेनले एक विज्ञप्तिमा भनेका छन्, “आफ्नो असफल एजेन्डाप्रतिको जनआक्रोशबाट बच्न असफल राष्ट्रपतिले गरेको यो अर्को हतास प्रयास हो । यो रकमले ट्रम्पकै कारण महँगिएको एक ट्याङ्की इन्धन (ग्यास) भर्न मात्र पुग्छ ।”

यसअघि हालै ट्रम्पले ३० वटा राज्यका करिब १० लाख ‘ओबामाकेयर’ लाभार्थीहरूलाई पनि ५०० डलरको चेक दिने वाचा गरेका थिए । बाइडेन प्रशासनले ती नागरिकहरूबाट बढी शुल्क असुलेको ह्वाइट हाउसको दाबी छ ।

निर्देशक क्युबान्स्कीका अनुसार खाद्यान्न, ऊर्जा र इन्धनको मूल्यवृद्धिले थिचिएका अमेरिकीहरूलाई बढ्दो स्वास्थ्य खर्चले झन् पिरोलेको बेला यो रकम बाँड्न लागिएको हो । उनी भन्छिन्, “यसले मानिसहरूलाई थोरै राहत त देला, तर दीर्घकालीन रूपमा खासै ठूलो मद्दत पुग्ने छैन ।