काठमाडौँ उपत्यकामा दुई दिन बिजुली काटिन सक्ने
- २३ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौँ उपत्यकामा शनिबार र आइतबार (असोज २४ र २५ गते) बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ। बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बत्ती काटिन सक्ने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
मातातीर्थ–स्युचाटार प्रसारण लाइनको तार फेर्ने काम भइरहेकाले बिजुली काटिन लागेको हो। नेपाल विद्युत् प्राधिकरणले त्यहाँका पुराना तार हटाएर धेरै बिजुली धान्न सक्ने नयाँ बलियो तार जडान गर्दैछ।
अहिले उक्त प्रसारण लाइनको करिब चार सय मिटर तार फेर्न बाँकी छ। यो काम सकिएपछि उपत्यकामा बढ्दो बिजुलीको माग धान्न र वितरण प्रणालीलाई थप भरपर्दो बनाउन सजिलो हुने प्राधिकरणले बताएको छ।
तार फेर्ने काम चलिरहँदा मातातीर्थ, स्युचाटार र त्यस वरपरका विद्युत् केन्द्रबाट बिजुली बाँडिने क्षेत्रमा लाइन आउने-जाने हुन सक्छ। मौसम खराब भएन भने तोकिएकै समयमा काम सकिने प्राधिकरणले जनाएको छ।