२४ अशोज २०८३, शनिबार
10 October 2026, Saturday

पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ को मृत्यु, १४ घाइते

पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ को मृत्यु, १४ घाइते

कास्कीको पोखरा महानगरपालिका-२८, कालिका ओख्लेको भीरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ। यस घटनामा १४ जना घाइते भएका छन्।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा माझठानाका विद्यार्थीहरू १३ वर्षीया ममता तिवारी, १४ वर्षीय अशिम कँडेल, १४ वर्षीया रुमिका नेपाली र सुवेच्छा तिवारीको ज्यान गएको कास्कीका प्रहरी प्रमुख नविन कार्कीले बताए। त्यस्तै, अस्पताल जान भनेर बसमा लिफ्ट मागेका ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ।

घाइतेहरूको गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर छ भने अरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ५७ वर्षीय बस चालक तुलबहादुर गुरुङ पनि छन्। घटनाको खबर लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर घाइतेहरूको उद्धार गरेका थिए।