२४ अशोज २०८३, शनिबार
10 October 2026, Saturday

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो एक साताको कार्यप्रगति

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो एक साताको कार्यप्रगति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज १८ देखि २३ गतेसम्मको साप्ताहिक कार्यप्रगति सार्वजनिक गरेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले नियमित पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिए।

अहिले सरकारले लगानीसम्बन्धी सबै काम एकै ठाउँबाट गर्न ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली’ को मस्यौदा बनाइरहेको छ। यसबाट लगानीकर्ताले सूचना, स्वीकृति र सेवा एउटै विद्युतीय माध्यमबाट पाउनेछन् भने पटक-पटक एउटै कागज बुझाउनुपर्ने झन्झट हट्नेछ। यसका साथै, नागरिक एप, हेलो सरकार, सरकारी वेबसाइट र विद्युतीय खरिद प्रणालीलगायत नौवटा महत्त्वपूर्ण सूचना प्रविधि प्रणालीको क्षमता बढाउने र मर्मत गर्ने काम अघि बढाइएको छ।

यसै साता सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउन विषयगत समितिका सचिवहरूसँग छलफल भएको छ। जेनजी आन्दोलनका प्रतिनिधिसँग गत वर्ष भएको सम्झौता कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूलाई पठाइएको छ। यसबाहेक, असोज २२ देखि २८ गतेसम्म सबै निकायमा सरसफाइ सप्ताह सञ्चालन गरिएको र दोलखा तथा रामेछापमा भ्रष्टाचारविरुद्धको कार्यक्रम सम्पन्न भएको प्रवक्ता अर्यालले बताए।