दसैँ मनाउन भारतबाट फर्किनेको नाकामा घुइँचो
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
दसैँ सुरु भएसँगै भारतबाट घर फर्किने नेपालीहरूको गड्डाचौकी नाकामा चहलपहल बढेको छ। रोजगारीका लागि भारतका उत्तराखण्ड, हिमाञ्चल, दिल्ली र पञ्जाब लगायतका ठाउँमा पुगेकाहरू चाडपर्व मनाउन गाउँ फर्किन थालेका हुन्।
भारतको देहरादुनमा सडक निर्माणको काम गर्ने अछामका खगेन्द्र बुढा साथीहरूसँगै घर फर्किँदै गर्दा नाकामा भेटिए। नेपालमा काम नभएपछि मजदुरी गर्न भारत गएका उनले दसैँतिहार मनाएर उतै फर्किने बताए। हिमाञ्चलमा खेतीपातीको काम गर्ने कालीकोटका निगेन्द्र शाही र दिल्लीमा सुरक्षा गार्ड रहेका मसुरियाका मीनबहादुर कठायतले पनि चाडपर्व सकेर फेरि काममै फर्किने बताए।
यात्रुको चाप बढेपछि कञ्चनपुर प्रहरीले नाका र महेन्द्रनगर बसपार्कसहित ८ ठाउँमा यात्रु सहायता कक्ष राखेको छ। प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले यात्रुको सुरक्षाका लागि निगरानी बढाएको र तालिमप्राप्त कुकुर परिचालन गरेर जाँच गरिरहेको बताए। यसका साथै, जिल्ला स्वास्थ्य कार्यालयले भारतबाट फर्किनेहरूमा डेङ्गु, मलेरिया र एचआइभी लगायतका रोगको नाकामै परीक्षण गरिरहेको छ।