बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
गोरखा – गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेतको उग्युलुङ खोलामा बाढी आएपछि बूढीगण्डकी नदीमा लेदोसहितको बहाव बढेको छ। बाढीका कारण नदी किनारका एक-दुईवटा घर बगाएको आशंका गरिए पनि मानवीय क्षतिको कुनै सूचना अहिलेसम्म प्राप्त भएको छैन।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार घटनाबारे बुझ्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भइरहेको छ भने हेलिकप्टर पठाउने तयारीसमेत गरिएको छ। स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा नदी थुनिने र त्यसपछि लेदोसहितको बाढी आउने घटना बेलाबेलामा हुने गरेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।