२६ अशोज २०८३, सोमवार
12 October 2026, Monday

बूढीगण्डकीमा भीषण बाढी : ५ जना बेपत्ता, पुल र जलविद्युत क्याम्प बगायो

बूढीगण्डकीमा भीषण बाढी : ५ जना बेपत्ता, पुल र जलविद्युत क्याम्प बगायो

गोरखाको चुमनुव्री गाउँपालिकामा खसेको ठूलो पहिरोपछि बूढीगण्डकी नदीमा बाढी आउँदा ५ जना बेपत्ता भएका छन् । भेडीगोठमा रहेका चुम्चेतका दुई महिला र तीन पुरुष बाढीमा परेका हुन् ।

बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढीले धार्चेस्थित निर्माणाधीन टाइम्स ऊर्जा आयोजना र त्यहाँका ७-८ वटा घर बगाएको बताइन् । यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरणहरु पनि बाढीले बगाएको छ ।

बाढीका कारण चुमनुव्री, धार्चे र आरुघाट क्षेत्रका थुप्रै झोलुङ्गे तथा पक्की पुलहरु भत्किएका छन् । दुई वटा टेलिफोन टावर र ५० वटा बिजुलीका खम्बामा क्षति पुगेको छ भने माछीखोला तल्लो बस्तीका करिब २२ वटा घर जोखिममा छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४३७ जना सुरक्षाकर्मी खटिएका छन् । प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीले उद्धारका लागि सेनाका ४ वटा हेलिकप्टर परिचालन गरिएको बताए । हेलिकप्टरबाट अहिलेसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । बाढीको पूर्वसूचना पाएलगत्तै नदी किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।