पहिरोले थुनिएको नदी फुट्दा बुढीगण्डकीमा बाढी, हिमाली बस्ती उच्च जोखिममा
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिँदा बनेको अस्थायी ताल फुटेर आएको प्रारम्भिक अनुमान गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले पहिरोका कारण नदीको बहाव रोकिएर बनेको अवरोध भत्किँदा बाढी आएको बताएको छ।
इसिमोडका अनुसार आइतबार बिहान करिब ४ बजेतिर बाढी सुरु भएको थियो। बाढीले लेदो र भग्नावशेष बगाउँदा नदी किनारका बस्ती र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीका कारण केही मानिस बेपत्ता भएका छन् भने घर, पुल र सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। पानीको बहाव बढेपछि बुढीगण्डकी, त्रिशूली र नारायणी नदी वरपरका बासिन्दालाई सतर्क गराइएको छ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले यो घटनाले हिमाली बस्ती र नदी करिडोर प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देखाएको बताए। तत्कालका लागि उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले भविष्यमा जोखिम कम गर्न यस्ता बाढीको कारण बुझ्न जरुरी रहेको बताए। त्यस्तै, इसिमोडका विशेषज्ञ छियाङगङ झाङले भिरालो पहाडी क्षेत्रमा पहिरो र नदीको निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए।
यसअघि सन् २०२४ को अप्रिलमा पनि मनास्लु हिमनदीबाट खसेको हिमपहिरोले वीरेन्द्र तालको पानी बाहिरिँदा बुढीगण्डकीमा अचानक बाढी आएको थियो। यस्ता निरन्तरका घटनाले हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र बस्ती विकास गर्दा एकीकृत रूपमा ध्यान दिनुपर्ने इसिमोडले जनाएको छ। अहिले प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गर्नुका साथै खोज, उद्धार र राहतको काम भइरहेको छ।