जिबुटीमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
जिबुटीको समुद्री तटमा डुङ्गा पल्टिँदा १५ बालबालिकासहित कम्तीमा १०९ जना आप्रवासीको ज्यान गएको छ। अक्टोबर ८ र ९ को राति भएको यो दुर्घटनामा करिब ११६ जना बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार, ३०५ जना बोकेको उक्त डुङ्गा जिबुटीबाट यमन जाँदै गर्दा ओबोक सहर नजिकै पल्टिएको थियो। दुर्घटनामा ८० भन्दा बढी इथियोपियाली नागरिक बाँच्न सफल भएका छन्। मृतकहरूमा ५२ पुरुष, ४२ महिला र १५ बालबालिका रहेका छन्।
जिबुटीस्थित आईओएमका प्रमुख अलेक्जेन्ड्रे कोइसाकले यसलाई ज्यानको ठूलो क्षति भने। उनले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका साथै घाइतेलाई आपतकालीन सहयोग भइरहेको बताए।
गरिबी र असुरक्षाका कारण धेरै मानिस रोजगारीको खोजीमा खाडी मुलुक पुग्न यमनको बाटो हुँदै यस्तो जोखिमपूर्ण यात्रा गर्ने गर्छन्। आईओएमका अनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म मात्रै इथियोपियाबाट १ लाख ७८ हजार मानिस जिबुटी आएका छन्।