बाढीले विद्युत् आयोजना बगाउँदा उत्तरी गोरखाका पाँच हजार घर अन्धकारमा
- २६ अशोज २०८३
- १ मिनेटको पढाई
आइतबार राति बूढीगण्डकी नदीमा आएको बाढीले सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि उत्तरी गोरखाका करिब पाँच हजार घर बिजुलीविहीन भएका छन्।
बाढीले आयोजनाका १२ वटा पोल, टावर र तारहरू बगाएको आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। पावर हाउस भने सुरक्षित छ। बिजुली र इन्टरनेट नहुँदा चुमनुब्री गाउँपालिकाका ९७१ घरपरिवार प्रभावित हुनुका साथै पालिकाको प्रशासनिक कामसमेत ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए।
बाढीले बाटो र पुलहरू बगाएकाले एक गाउँबाट अर्को गाउँ जाने अवस्थासमेत नरहेको चुमनुब्रीकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले बताइन्। तर, मानवीय क्षति भने भएको छैन।
यस्तै, आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति गरेपछि धार्चे गाउँपालिकाका करिब चार हजार घरधुरी र आरुघाट गाउँपालिकाको शान्ति बजार क्षेत्रका ५० घरपरिवार पनि अन्धकारमा बस्न बाध्य भएका छन्।