बिमस्टेक बैठकमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान
- २६ अशोज २०८३
- १ मिनेटको पढाई
गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत गएका छन्। उनी आज दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनले असोज २७ गते उक्त बैठकलाई सम्बोधन गर्नेछन्।
बैठकमा नेपाल, भारत लगायत सातवटै सदस्य देशका आन्तरिक सुरक्षा हेर्ने मन्त्रीहरू सहभागी हुँदैछन्। त्यहाँ लागुऔषध ओसारपसार, मानव बेचबिखन, आतङ्कवाद, साइबर अपराध र विपद् व्यवस्थापन जस्ता क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ। नेपालले भने जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बढाएको विपद्को जोखिम कम गर्ने र उद्धार कार्यमा क्षेत्रीय सहकार्य बढाउने कुरालाई विशेष प्राथमिकता दिनेछ।
गृहमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले अन्य देशका मन्त्रीहरूसँग भेटघाट र द्विपक्षीय वार्ता पनि गर्नेछन्। उनी असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।