पेसागत सफलताका लागि नैतिकता र इमानदारी आवश्यक : प्रधानमन्त्री शाह
- २६ अशोज २०८३
- १ मिनेटको पढाई
प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा उनले तालिममा सिकेका कुरालाई पूर्ण रूपमा व्यवहारमा उतार्न निर्देशन दिए।
प्रधानमन्त्री शाहले संविधान र कानुनको पालना गर्दै बिना भेदभाव र कुनै अनुचित प्रभावमा नपरी नागरिकको पक्षमा काम गर्न प्रहरीलाई आग्रह गरे। अपराध अनुसन्धानलाई छिटो, वैज्ञानिक र तथ्यपरक बनाउन सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए।
दीक्षान्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। प्रधानमन्त्रीले दीक्षित नयाँ प्रहरी अधिकृत र उनीहरूलाई प्रेरित गर्ने परिवारजनलाई बधाई तथा उज्वल भविष्यको शुभकामना दिएका थिए।