दसैँ मनाउन १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ
- २७ अशोज २०८३
- १ मिनेटको पढाई
दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किनेको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म १ लाख ९ हजार ६३६ जनाले काठमाडौँ छाडेका छन्।
ट्राफिक प्रहरीका अनुसार १७ हजार १३९ वटा गाडीमा उनीहरू बाहिरिएका हुन्। यसरी काठमाडौँ छाड्नेमा ४१ हजार ९४६ महिला र ६७ हजार ६९० पुरुष छन्। दसैँ नजिकिएसँगै लामो तथा छोटो दूरीका गाडीमा यात्रुको भिड बढेको छ।
अहिले नागढुङ्गा, फर्पिङ, थानकोट, भक्तपुरलगायतका मुख्य नाकाबाट यात्रु बाहिरिने क्रम चलिरहेको छ। नाकामा भिड बढेपछि गाडीको व्यवस्थापनमा विशेष ध्यान दिएको ट्राफिक प्रहरीले जनाएको छ। यात्रुको सुरक्षा र दुर्घटना कम गर्न सडकमा चौबीसै घण्टा प्रहरी खटिएको ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।
मुख्य सडकहरू नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गमा गाडीहरू चलिरहेका छन्। यात्रुको सङ्ख्या बढेसँगै सडकमा चाप परेकाले यात्रामा केही बढी समय लाग्न सक्ने यातायात व्यवसायी पुण्यप्रसाद सिटौलाले बताए।