२८ अशोज २०८३, बुधबार
14 October 2026, Wednesday

भोटेकोशी बाढी: बाढी आउनुअघि नै हिमाल ४० सेन्टिमिटर सरेको खुलासा

भोटेकोशी बाढी: बाढी आउनुअघि नै हिमाल ४० सेन्टिमिटर सरेको खुलासा

गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी बाढी आउनुअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिर ४० सेन्टिमिटरसम्म सरेको पाइएको छ। अन्तर्राष्ट्रिय संस्था इसिमोडले आज सार्वजनिक गरेको अध्ययनले बाढी आउनुभन्दा ४८ दिन अगाडिको अवधिमै पहाड सरेको देखाएको हो।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले यो अध्ययन सार्वजनिक गर्दै उक्त विपद् हिमताल फुटेर नभई चट्टान र बरफ खसेर भएको बताए। अध्ययन अनुसार करिब १३ करोड २० लाख घनमिटर चट्टान र बरफ एकैपटक लेन्दे खोलामा खस्दा ठूलो बाढी आएको थियो। यो विपद्मा नेपालतर्फ १ हजार ४५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७४५ जना बेपत्ता छन्। यस्तै, चीनतर्फ ४३ जनाको मृत्यु भएको छ।

अध्ययनले पूर्वसूचना प्रणाली प्रभावकारी नभएको पनि देखाएको छ। बिहान ८ बजेर ३७ मिनेटमा चट्टान खसेर सात मिनेटमै बाढी सीमा क्षेत्रमा पुगेको थियो, तर मोबाइलमा पूर्वसूचना भने करिब आधा घण्टापछि मात्रै पठाइएको थियो। अहिलेको प्रणालीले वर्षा र नदीको पानी मात्र नाप्ने भएकाले एक्कासि हिमाल भत्किने घटनाको पूर्वानुमान गर्न नसकेको इसिमोडले जनाएको छ। थप अनुसन्धान गर्न र पूर्वसूचना प्रणाली सुधार्न इसिमोड र चिनियाँ टोलीले यसै सातादेखि प्रभावित क्षेत्रमा स्थलगत अध्ययन सुरु गर्दैछन्।