२८ अशोज २०८३, बुधबार
14 October 2026, Wednesday

चितवनमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै: बिरामीको सङ्ख्या २३४ पुग्यो

चितवनमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै: बिरामीको सङ्ख्या २३४ पुग्यो

चितवनमा यो वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार १८ सय १६ जनाको परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये १४२ जना चितवनकै हुन् भने बाँकी ९२ जना बाहिरी जिल्लाबाट उपचारका लागि आएका हुन्।

जिल्लाभरिमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकामा ४६ र भरतपुर महानगरपालिकामा ३२ जनामा सङ्क्रमण देखिएको छ। बिरामी पर्नेमा पुरुषको तुलनामा महिला धेरै छन्। यद्यपि, हालसम्म जिल्लामा यस रोगका कारण कसैको पनि ज्यान गएको छैन।

मुसामा पाइने सूक्ष्म किर्नाको टोकाइबाट मानिसमा सर्ने यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको र जिउ दुख्ने तथा किर्नाले टोकेको ठाउँमा कालो दाग बस्ने जस्ता लक्षण देखिन्छन्। स्वास्थ्य कार्यालयका राम केसीले रोगबाट बच्न घर वरपरको झाडी सफा राख्न र खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउन सुझाव दिएका छन्।