सर्वाधिक मतसहित नेपाल मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित
- २८ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले सर्वाधिक मत पाएर चुनाव जितेको हो।
मङ्गलबार न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको चुनावमा नेपालले खसेको १८० मध्ये १७३ मत पायो। एसिया–प्रशान्त क्षेत्रबाट चुनाव लडेका देशहरूमध्ये नेपालले पाएको यो मत सबैभन्दा धेरै हो।
नेपाल यसअघि पनि लगातार दुई पटक (सन् २०१८–२०२० र २०२१–२०२३ मा) परिषद्को सदस्य भइसकेको छ। तेस्रो पटक पाएको यो नयाँ कार्यकाल सन् २०२७ जनवरी १ तारिखबाट सुरु हुनेछ।
चुनाव जितेपछि न्युयोर्कस्थित नेपाली नियोगले नेपाललाई विश्वास गरेर भोट दिने सबै सदस्य राष्ट्रलाई धन्यवाद दिएको छ। यसका साथै, मानव अधिकारको रक्षा, समावेशिता र सामाजिक न्यायका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धतासमेत नेपालले जनाएको छ।