३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

चाडपर्व लक्षित सुरक्षाः काठमाडौंमा कुकुर र ड्रोनसहित ३५ सय प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षाः काठमाडौंमा कुकुर र ड्रोनसहित ३५ सय प्रहरी परिचालन

दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई सुरक्षित बनाउन काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६ जना प्रहरी खटिएका छन्। चाडपर्वको बेला हुनसक्ने चोरी, लुटपाट र ठगी रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले बजार, बसपार्क र आर्थिक कारोबार हुने क्षेत्रमा विशेष निगरानी बढाइएको बताए। उनका अनुसार भिडभाड हुने ठाउँमा शंकास्पद गतिविधि रोक्न एक सय जना प्रहरी सादा पोसाकमा खटिएका छन्।

सुरक्षालाई अझ कडा बनाउन प्रहरीले ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिरहेको छ। पूरै काठमाडौंलाई १४ वटा सेक्टरमा बाँडेर सुरक्षा टोली परिचालन गरिएको थापाले जानकारी दिए। सर्वसाधारणलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउन प्रहरी सक्रिय रहेको र शंकास्पद गतिविधि देखेमा तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।