राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ लैजान गगन थापाको जोड
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट वास्तविक लोकतन्त्रतर्फ र देखावटी शैलीबाट नीतिगत सुधारतर्फ लैजानुपर्ने बताएका छन्। शनिबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिको चमत्कारले क्षणिक उत्साह ल्याए पनि दिगो रूपान्तरणका लागि बलिया संस्थाहरू र संस्थागत सुदृढीकरण नै आवश्यक पर्ने दाबी गरे।
मुलुकको शिथिल आर्थिक अवस्था र कमजोर स्रोत परिचालनप्रति चिन्ता व्यक्त गर्दै थापाले संविधानले मौलिक हकको ग्यारेन्टी गर्दा पनि समाजमा विभेद कायमै रहेको भन्दै यसको गहिरो समीक्षा हुनुपर्ने औंल्याए। कांग्रेस अब कुनै पनि राष्ट्रिय बहसबाट नभाग्ने र नागरिकका समसामयिक प्रश्नहरूको वैचारिक उत्तर दिने जिम्मेवार पार्टीका रूपमा स्थापित हुने उनले स्पष्ट पारे।