कोप–३१ मा हिमाल र समुद्रको सङ्कटलाई सँगै उठाउँदै नेपाल, विपद् सहायतामा साढे २ अर्ब बढी माग
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपालले आगामी ३१औँ जलवायु सम्मेलन (कोप–३१) मा हिमाल पग्लिने र समुद्री सतह बढ्ने समस्यालाई जोडेर अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने भएको छ। टर्किएको अन्टाल्यामा कात्तिक २३ देखि मङ्सिर ४ सम्म हुने सम्मेलनमा नेपालले हिमालदेखि समुद्रसम्मको प्रणालीलाई एउटै मानेर एजेन्डा अघि सार्ने तयारी गरेको हो।
हालै अस्ट्रेलियामा भएको ‘प्रशान्त प्रि–कोप’ बैठकबाट फर्केका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु वार्तामा टापु राष्ट्रहरूले मात्र सहानुभूति पाउने भाष्य यसपटक नेपालले तोडेको बताए। हिमनदी पग्लिएर नै समुद्रको सतह बढ्ने भएकाले हिमाल जोगाउनु भनेको टापु राष्ट्रको पनि अस्तित्व रक्षा गर्नु रहेको उनले प्रष्ट पारे।
नेपालले गत भदौ १० मा भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई प्रमाणका रूपमा पेस गर्दै ‘हानि तथा नोक्सानी कोष’बाट करिब २ अर्ब ७० करोड रुपैयाँ तत्काल उपलब्ध गराउन माग गरेको छ। खनालले विपद्पछि प्रभावित देशले लामो प्रक्रिया विनै छिटो सहयोग पाउनुपर्ने अडान राखेको बताए। यसका लागि नेपालले सम्मेलन अघि नै राजनीतिक सहमति जुटाउन पहल गरिरहेको छ।
सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी नहुने भएकाले नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री खनाल वा पर्यावरणमन्त्री गीता चौधरीमध्ये एकले गर्नेछन्। यसबारे मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
सम्मेलनमा नेपालले आफ्नै स्टल राखेर बाढीका दृश्य प्रदर्शन गर्ने र साना देशका लागि अनुदानको मुद्दालाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ। सम्मेलनको पूर्वतयारीलाई अन्तिम रूप दिन काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ।