३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

बाढीले पक्की पुल बगाएपछि बनेको ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

बाढीले पक्की पुल बगाएपछि बनेको ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

काठमाडौं – भोटेकोशी बाढीले पक्की पुल बगाएपछि सास्ती भोगिरहेका नुवाकोटवासीका लागि निर्माण गरिएको ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ।

गत भदौ १० गतेको बाढीले त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि स्थानीयहरू तुइन र जिपलाइनको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। पुलको निर्माण कार्य पूर्ण रूपमा नसकिए पनि चाडपर्व र स्थानीयको सहजतालाई ध्यानमा राख्दै यसलाई सञ्चालनमा ल्याइएको हो।

नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार लट्ठा जडानलगायतका मुख्य काम सकिएका छन्। केही सहायक काम बाँकी रहेकाले वारपार गर्दा पुल अलि हल्लिने भए पनि एकैपटक धेरै यात्रु आवतजावत गर्न सक्ने उनले बताए।

यो पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडा, किस्पाङ, म्यागङ गाउँपालिकाका साथै रसुवा र धादिङसम्मका यात्रुलाई आवतजावत गर्न सहज भएको छ। त्रिशूली अस्पताल, विद्यालय जान र बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउन पनि यसले ठूलो मद्दत गरेको छ।

करिब ३ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको यो पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासंघले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने अपुग रकम नुवाकोट निर्माण व्यवसायी संघले व्यहोर्नेछ।