३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

चितवनमा दसैँमा ३० करोडभन्दा बढीको खसी व्यापार

चितवनमा दसैँमा ३० करोडभन्दा बढीको खसी व्यापार

काठमाडौं – बडादसैँको अवसरमा चितवनमा ३० करोड रुपैयाँभन्दा बढीको खसीबोकाको व्यापार हुने भएको छ। दसैँ सुरु भएसँगै जिल्लामा मासुको व्यापार ह्वात्तै बढेको छ।

मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलले यस वर्षको दसैँमा व्यावसायिक रूपमा १५ हजारभन्दा बढी खसी काटिने र करिब ३० करोडको कारोबार हुने अनुमान गरिएको बताए। उनका अनुसार गत वर्ष १० हजार खसी–च्याङ्ग्रा बिक्री भएकोमा यसपालि व्यापार अझ बढ्ने देखिएको छ।

विगत पाँच वर्षयता चितवनका व्यापारीले भारतबाट खसीबोका ल्याउन छाडेका छन्। जिल्लामै उत्पादन बढेपछि अहिले उल्टै चितवनबाट काठमाडौं खसी पठाउन थालिएको छ। बाहिरी जिल्ला गोर्खा, धादिङ, नवलपरासी र तनहुँबाट पनि चितवनमा खसी आउने गरेका छन्। अहिले बजारमा जिउँदो खसी किलोको ७ सय र तयारी मासु १२ सय रुपैयाँमा बिक्री भइरहेको छ।

यस वर्ष मुस्ताङका साथै जुम्ला, बझाङ र डोल्पाबाट समेत गरी ३ हजारभन्दा बढी च्याङ्ग्रा चितवन भित्रिएका छन्। कुखुराको मासुको भने दसैँमा खासै धेरै व्यापार नहुने र करिब ४ करोडको मात्रै कारोबार हुने कँडेलले जानकारी दिए। अघिल्ला वर्ष फूलपातीदेखि व्यापार बढ्ने गरे पनि यसपालि घटस्थापनाबाटै मासुको खपत बढेको उनले बताए।