३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

कोप–३१ मा नेपालको मुख्य एजेन्डा : जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षण

कोप–३१ मा नेपालको मुख्य एजेन्डा : जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षण

आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण र जलवायुजन्य हानिनोक्सानीको विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा जाने नेपाली टोलीले जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यहाँ परेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछ। वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले पछिल्ला विपद्का घटनाले हिमाली क्षेत्रको जोखिम झन् बढाएको बताए। नेपालले आफ्नो राष्ट्रिय अवधारणापत्रलाई अन्तिम रूप दिन कात्तिक १२ गते सरोकारवालाहरुको सम्मेलन गर्दैछ।

सम्मेलनमा नेपालले भोटेकोशी, मेलम्ची र थामे जस्ता ठाउँमा गएको बाढीपहिरोको उदाहरण दिँदै जलवायुजन्य क्षतिको क्षतिपूर्ति माग्नेछ। यसका लागि नेपालले सम्मेलनस्थलमा छुट्टै प्याभिलियन राखेर तस्बिर र भिडियोमार्फत आफ्ना समस्या देखाउने मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए।

जलवायुविज्ञ कुशल गुरुङले ऋणको भार नबढ्ने गरी अनुदान सहायता ल्याउन र कार्बन व्यापार बढाउन नेपालले जोड दिनुपर्ने बताए। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा उठाएका जलवायु न्यायका विषयलाई समेत यस सम्मेलनमा सशक्त रूपमा प्रस्तुत गरेर हानिनोक्सानी कोषबाट छिटो सहयोग जुटाउने सरकारको तयारी छ।